बल्ल पुग्यो लाप्राकमा भूकम्प पीडितलाई राहत
२१ वैशाख, गोरखा । भूकम्प गएको झण्डै ९ दिनपछि गोरखाको दुर्गम उत्तरी गाउँ लाप्राकका बासिन्दाले राहत पाए । सिंगै थातबास उजाडिएका लाप्राकबासीका लागि यो राहत एएटा सामान्य मल्हम मात्रै हो, उनीहरुले अबका दिनमा निकै ठूलो भुक्तमान खेप्नुपर्ने दुखान्त बाँकी नै छ ।
झण्डै एक हजार घर परिवार रहेको लाप्राक र दुम्जा गाउँमा भूकम्प गएको ९ दिनपछि गैरआवासीय नेपाली संघले अध्यक्ष शेष घलेको नेतृत्वमा पहिलोपटक राहत पुर्यायो ।
करिव पाँच सय घर परिवार रहेको लाप्राक गाउँमा केही घरमात्रै ठाडो देखिन्छन् । ठाडो देखिएका घरमा पनि बस्ने सक्ने अवस्था छैन ।
दुम्जामा ढल्ने घरको संख्या कम देखिए पनि बस्न सक्ने अवस्था कुनै घरमा छैन । त्यहाँ भूकम्पबाट अहिलेसम्म ९ जनाको ज्यान गइसकेको छ भने करिव ३० जना घाइते भएका छन् ।
भूकम्प र पहिरोको त्रासका कारण सबैजसो गाउँहरुले लाप्राकभन्दा केही माथिको चौरमा विस्थापित भएका छन् । भेट्नेले त्रिपाल टाँगेका छन्, नपाउनेहरु खुल्ला आकाशमुनि छन् ।
‘अब लाप्राकमा बस्न सकिने अवस्था छैन, कतिखेर भूइँचालो आएर वस्ती नै लैजाने हो भन्ने डरले सबै गाउँले माथि डाँडामा बसेका छौं’ स्थानीयबासी एवं पूर्वगाविस अध्यक्ष सन्तबहादुर गुरुङले अनलाइनखबरसँग भने ।
भूकम्प जाँदा बस्ती नजिकै ठूलो पहिरो गएका कारण पनि स्थानीयबासी त्रसित भएका छन् ।
आफन्त, न्यानो घर र चौपाया गुमाएका गाउँलेहरु यतिबेला चिसो चौरमा पाल टाँगेर रोग, भोक र अँध्यारोसँग जुधिरहेका छन् ।
गैरआवसासीय नेपाली संघले पहिलो पटक त्रिपाल, कम्बल र खानेकुरा लगिदिएपछि आइतबार स्थानीयबासिन्दाले केही सन्तोषको सास फेरे ।
बारीमा आलु खन्नेबेला भइसकेको छैन, जसले गर्दा लाप्राकमा खाद्यान्नको ठूलो अभाव छ ।
भूकम्पको केन्द्रविन्दु रहेको बारपाकबाट नजिकै रहे पनि लाप्राकमा राहत पुग्न निकै ढीला भयो । उचाइ र जटिल भूगोलका कारण यहाँ लामो समयसम्म राहत पुग्न सकेन । राहत बोकेर पुगेको हेलिकोप्टर धेरैपटक फर्किन बाध्य भयो । अन्तत: हेलिकोप्टर अवतरण भई छाड्यो ।
आइतबार गैरआवासीय नेपाली संघको राहत सामाग्री बोकेर पुगेको हेलिकोप्टरले करिव एक हजार थान त्रिपाल, एक हजार केजी चिउरा, एक हजार कार्टुन चाउचाउ, एक हजार केजी चिउरा, १ हजार थान कम्बल र १ हजार किलो चामल लाप्राकमा झारेको थियो ।
स्थानीयबासी आशबहादुर गुरुङले एकैठाउँमा मिलेर बसेकाले प्राप्त सहयोग सामानुपातिकरुपमा वितरण हुने बताए । ‘अब हामीलाई मुख्य समस्या खानेकुराकै हो, आलु नपाक्दासम्म हामीलाई ठूलो समस्या छ’ उनले भने ।
भूकम्पको त्रासदीपछि अब लाप्राकको भविष्य के होला भन्ने चिन्ता छ सन्तबहादुरलाई । ‘अब पुरानै ठाउँमा फेरि घर बनाएर बस्न सक्ने अवस्था छैन, गाउँ सार्नैपर्ने अवस्था छ’ गुरुङले भने- दुई चार दिनको गर्जो त राहतले टर्ला । तर, लाप्राक अब पुरानै रुपमा फर्किन बर्षौं लाग्ने भयो, हाम्रो पुरै जीवन लगाएर बनाएको पहिचान मेटिने भयो ।’
लाप्राक, बारपाक, दुम्जाजस्ता पहाडको काखमा मिलेर बसेका यस्ता गाउँहरु अब कसले पुनः निर्माण गरिदेला भन्ने चिन्ता पूर्वगाविस अध्यक्ष सन्तबहादुरलाई छ ।
आफ्नै बुँतामा खाना र नाना पनि पुर्याउन नसक्ने गाउँलेहरुले अब कसरी ओत लाग्ने घर बनाउलान् ? सन्तबहादुर यतिबेला सम्भावित सहयोगीको खोजीमा छन्, जसले लाप्राकलाई पुरानै सान र पहिचान दिन सहयोग गरोस् ।
‘यति जटिल भूगोलमा आपसमा मिलेर बसेको बस्ती बसेको होला भन्ने मैले कल्पना गरेको थिइँन’ राहत वितरणका लागि आइतबार दिउँसो लाप्राक पुगेका एनआरएन अध्यक्ष घलेले भने- ‘यहाँका गाउँलेहरुलाई अझै पनि गाउँमै भविश्य सुृरक्षित छ भनेर पूर्ण आवश्त पार्न सकिएन र उनीहरुलाई पुर्नस्थापित गर्न सकिएन भने गाउँबाट सबै विस्थापित हुने खतरा देखियो, त्यो निकै दूर्भाग्यपूर्ण हुन्छ ।’
दुम्जाको हालत पनि उस्तै
लाप्राकको छेबैमा रहेको तर त्यति चर्चामा नरहेको दुम्जा गाउँको पनि हालत उस्तै छ । बारपाकमा भारतीय सेनासहित धेरै उद्दार तथा राहतकर्मी पुगे पनि छेवैमा रहेका लाप्राक र दुम्जाले त्यो अवसर पाएनन् । लाप्राकजस्तै गाउँ नै सार्नुपर्ने खतरा नरहे पनि दुम्जाबासी र लाप्राकबासीले भोगेका दुःख उस्तै देखियो ।
Source : OnlineKhabar.com
No comments:
Post a Comment
कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !