सिन्धुपाल्चोकमा भेटिए गायक गिरिश खतिवडा
२१ वैशाख, सिन्धुपाल्चोक । गाउँमा सरकारै भेटिएन भन्ने गुनासो व्यापक बनिरहेका बेला भूकम्पको त्रासकै बीचमा र्यापर गिरिश खतिवडा भने सरकारको मुखै नहेरी गाउँतिर लागे ।
भूकम्प आएपछि सुरुमा गिरिश फेसबुकमा फ्यानहरुसँग सम्वादमा रहे । फ्यानहरुले उनलाई आफ्नो क्षेत्रमा भएको क्षति आफ्नो वालमा पोष्ट गरिदिन आग्रह गरिरहेका थिए । त्यही क्रममा सिन्धुपाल्चोक भोताङका फ्यानसँग फेसबुकमै कुराकानी भयो । ‘एकदमै दुर्गम हो, त्योभन्दा माथि लेक मात्र छ । पहिरोले बाटो छैन, हिँडेर मात्र जान सकिन्छ’ गिरिशले फ्यानसँगको सम्वाद सुनाए ।
यो कुराले गिरिशको मन छोयो । उनलाई लाग्यो, सरकारी तथा अन्य टोली कहिले पुग्ला ? काठमाडौंबाट आउनेहरु मेलम्चीबाट विस्तारै अघि बढ्छ र भोताङ पुग्दा त धेरै समय लाग्न सक्छ ।
त्यसपछि उनले भोताङ जाने निर्णय गरे र फेसबुकबाटै डाक्टर, नर्ससहित भोलेन्टियर आहृवान गरे । नवनायिका स्वस्तिमा खड्का पनि टीममा सहभागी हुन तयार भइन् । बुटवलको एउटा टीम पनि उनीहरुसँग काम गर्न तयार भयो ।
उनीहरुले आफैं केही फण्ड जुटाए । विदेशमा भएका साथी भाइहरुले पनि साथ दिए । आंकाक्षा बस्यालले पनि सहयोग गरिन् ।
केही राहत र चिकित्सकको टोली लिएर टीम गिरिश शनिबार बिहान भोताङ पुग्यो । मेलम्चीबाट पैदलै हिँडेर धाप हुँदै भोताङ पुगेका थिए ।
शायद भोताङ पुग्ने यो टीम नै पहिलो थियो । जहाँ उनीहरुले आफूले लिएर गएका केही राहत बाँडे र केही बिरामीको प्राथमिक उपचार गरे ।
गम्भीर घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरमा राखेर काठमाडौं पठाए । आइतबार भोतानबाट फर्किएका गिरिश तिपिनी नजिकै भेटिए ।
उनले भने-‘भोताङ आसपासका एरियाहरु मानिखर्क, यार्सा लगायतका गाउँहरु गयौं । बाटो छेउछाउका पातलो बस्तीहरु भ्याउँदै गएका हौं, कुनै कुनै घर र गोठहरु मात्रै बचेका छन् । यहाँ भन्दा माथि ८० प्रतिशतभन्दा बढी घरहरु कोल्याप्स नै भएका छन् ।’
गिरिशका अनुसार अहिले पनि त्यो क्षेत्रका मानिसहरु राहतको पर्खाइमा छन् । भूकम्प प्रभावित मानिसहरुलाई अहिले ओत लाग्न त्रिपाल र खानाको आवश्यकता छ । ‘त्यहाँ अहिलेको समस्या सेल्टर हो । उनीहरुसँग केही केही टेन्टमा छन् । कोही बचेका गोठमा बसेका छन्’ उनले भने-‘उनीहरुलाई अर्को समस्या भनेको फुड हो । भएका अन्नपात सबै भत्किएका घरमै पुरिएका छन् ।’
गायक गिरिश खतिवडाको टीम फर्किँदै गर्दा काठमाडौं बस्दै आएका भोताङका मानिसहरु भने घर ढल्यो भन्ने सुनेर गाउँ फर्किँदै थिए ।
उनले भोताङका भूकम्पका प्रभावितहरुलाई सहयोग गर्न समेत अपील गरेका छन् । र्यापर गिरिश खतिवडाले भने भने-‘सानो सानो पानीले समुन्द्र बन्छ । त्यसैले आफूले जे गर्न सकिन्छ । सहयोग गरौं ।’
No comments:
Post a Comment
कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !