काठमाडौं - यसपालि नेपालमा देखिएको स्वाइन फ्लु भाइरसको उमेर पहिलेभन्दा बढ्दै गएको विशेषज्ञ चिकित्सकले जनाएका छन्। एक पटक स्वाइन फ्लु लागेका बिरामीमा संक्रमण अवधि बढ्दै जानु र तीन महिनादेखि देखापरेको स्वाइन फ्लु गर्मी मौसम लागेपछि पनि लगातार देखिनुले यसको आयु बढेको आशंका गरिएको हो। ‘पहिला एकडेढ हप्तामै बिरामी सामान्य अवस्थामा फर्कन्थे, अहिले एक महिनासम्म पूरा निको हुन सकेका छैनन्,' शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, अनुसन्धान केन्द्रका डाक्टर शेरबहादुर पुनले भने। उनका अनुसार गत वर्षहरुमा स्वाइन फ्लु देखिए पनि छोटो अवधिमै हराएर जाने गरेकोमा यो वर्ष तीन महिनासम्म हराएको छैन।
उनले अस्पतालमा एकपटक औषधि लिएर गएका बिरामीसमेत पन्ध्रबीस दिनपछि निको भएन भन्दै आउने गरेको बताए। ‘औषधि लिएर गएका बिरामी मात्र दैनिक ७/८ जना मकहाँ आएका छन्,' उनले भने। अस्पतालको बहिरंग विभागमा दैनिक आउने १ सय ५० जनामध्ये ८० प्रतिशत स्वाइन फ्लु तथा कुनै न कुनै फ्लुको लक्षण भएका आउने गरेको उनले जानकारी दिए। ‘उनीहरु घाँटी दुख्ने, खोकी लाग्ने, ज्वरो आउने भएर आउँछन्,' डा. पुनले भने। यसरी आउने बिरामीलाई राष्ट्रिय इन्फ्लुयन्जा प्रयोगशालामा पठाउने गरिए पनि निश्चित मापनका आधारमा मात्र परीक्षण गर्ने हुनाले परीक्षण प्रक्रियासमेत फितलो बनेको डा. पुनले बताए। प्रयोगशालाले उच्च शंकास्पद बिरामीलाई मात्र परीक्षण गर्ने भएकाले पूरै बिरामीको यकिन हुन नसकेको उनको भनाइ छ।
स्वाइन फ्लु देखा परेको दुई महिना बितिसक्दा पनि बिरामी नरोकिएकाले यो वर्षको स्वाइन फ्लु भाइरस बलियो भएको हुन सक्ने अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले बताए। ‘परीक्षण गर्न पठाएका बिरामीमध्ये कतिपयमा अहिले पनि स्वाइन फ्लु भाइरस देखिने क्रम जारी छ,' उनले भने। प्रयोगशालामा स्वाइन फ्लु परीक्षण गर्न जाने बिरामीले पहिल्यै सिटामोल खाएर आउने हुनाले कतिपयमा परीक्षणकै समय ज्वरो घट्न जाँदा स्वाइन फ्लुका बिरामीको कम परीक्षण हुन पुगेको डा. पुनको तर्क छ। ‘प्रयोगशालाले ज्वरो नआएका बिरामीलाई परीक्षण नगरी फर्काउँछ, उनीहरुले आफंै सिटामोल खाएर आएका हुन्छन्,' उनले भने। भारतमा देखा परेलगत्तै नेपालमा देखा परेको स्वाइन फ्लु भाइरसको परीक्षण भारतमा भइसके पनि नेपालमा हुन नसकेको चिकित्सकले बताएका छन्। अत्यन्तै महँगो प्रविधिको त्यो परीक्षण नेपाल तथा भारतमा समेत छैन। भारतमा भने स्वाइन फ्लु देखिएलगत्तै अमेरिकास्थित एमआइटी (म्याचेज इन्सटिच्युट अफ टेक्नोलोजी) ले नमुना परीक्षण गरी भाइरसको स्वरुप फरक रहेको पत्ता लगाएको थियो। ‘यसपालि भारतमा देखा परेको भाइरसको जिन पहिलेको भन्दा शक्तिशाली र भिन्नै प्रकारको रहेको पत्ता लागेको थियो,' डा. पुनले भने। ‘नेपालमा पनि त्यतैबाट आएको लक्षणले देखाएका छन्,' उनले भने। यसपालिको भाइरसले शरीरमा लाग्नेबित्तिकै लक्षण नदेखाउने तथा लागिसकेपछि लामो समय असर देखाउने खालको भएकाले यो भाइरसबाट निर्बल तथा कमजोर स्वास्थ्य भएका व्यक्ति बढी जोखिममा रहेको चिकित्सकले जनाएका छन्। यो भाइरस पूरै नहराएसम्म विशेष गरी बूढाबूढी, कुपषोण, फोक्सोका रोगी तथा बालबालिकालाई बढी सजकतासाथ राख्नुपर्ने चिकित्सकको सुझाव छ। राष्ट्रिय इपिडिमियोलोजी महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले भने अहिलेसम्म कुनै पनि परीक्षण नभएकाले भाइरसबारे यकिन भन्न नसकिने बताए। गर्मी मौसमको सुरुआतसँगै देशका अन्य भागमा समेत स्वाइन फ्लु भाइरस घट्दै गएको र केही समयपछि रोकिन सक्ने बताए। ‘यो फ्लु आउनेजाने क्रम जारी रहन्छ, मनसुन सुरु भएपछि आउन पनि सक्छ,' उनले भने। महाशाखाका अनुसार अहिलेसम्म नेपालमा स्वाइन फ्लुकै कारण ८ जनाको मृत्यु भइसकेको छ।
स्वाइन फ्लुबाट बच्न
–बूढाबूढी तथा केटाकेटी र पहिल्यै कमजोर स्वास्थ्य भएका व्यक्ति भीडभाडमा नजाने
–बाहिरबाट घरमा आउने स्वस्थ व्यक्तिहरु हात धोएर मात्र बूढाबूढी र केटाकेटीको नजिक जाने
–बूढाबूढी तथा अन्य बिरामीदेखि एक मिटर टाढै बस्ने
–बाहिर भीडाभाडमा जाँदा सफा मास्क लगाउने
–रुघाखोकी, घाँटी दुख्ने तथा ज्वरो आउने भए तुरुन्तै अस्पताल जाने
Source ; Nagarik News
No comments:
Post a Comment
कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !