इच्छा जोशी |
समस्या सधैं संकेत दिएर आउँदैन। मानिस अचानक यसको भुमरीमा फस्न पुग्छ। समस्याका बहुरुप हुन्छन् र मान्छेको स्वभाव पनि एकैनास हुँदैन। कोही समस्यादेखि चार हात पर भाग्छन्, कोही समस्याको सामना गर्छन्। कोही भने समस्यामा पनि सम्भावना देख्छन् र फाइदा लिन्छन्।
यो यस्तै एउटी नवयौवनाको कथा हो जो समस्यामा परिन्, त्यसैले सफल भइन्।
इच्छा जोशीलाई एक दिन ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएको भेट्यो। दरबारमार्गमा साथीहरूसँग रमाइलो गर्दै 'हल्का लिएर' घर फर्कदंै गरेकी उनलाई ट्रफिकले सोधे 'मापसे छ हजुर?'
'थोरै मात्र', उनले ढाँटिनन्।
ब्रेथलाइजर लिएर उभिएका ट्राफिकलाई त्यति सुनेपछि पुगिहाल्यो।
दुई पेग वाइनले उनको लाइसेन्समा प्वाल पारिदियो र 'ट्राफिक कक्षा'मा समेल गरायो। त्यो दिन त उनी जसोतसो अर्को गाडीमा आइरहेका साथीको सहयोगमा घर पुगिन्। तर, लामो समय यो घटना उनको दिमागमा घुमिरह्यो। अचानक उनी फुरुंग परिन्। 'वाह, ग्रेट आइडिया' भन्दै उफ्रिइन्। र, त्यो 'आइडिया' लाई यथार्थमा बदल्न जुटिहालिन्।
सिंगापुरमा पढेर उतै 'मेकअप आर्टिस्ट' बन्ने सपना बुनेकी उनलाई यो घटनाले 'यु टर्न' गरायो। 'मजस्तो समस्यामा त कति पर्छन् कति, अब समाधान म खोज्छु,' यही अठोटका साथ उनले सुरु गरेको 'डायल अ ड्राइभर' ६ महिनामै सहरमा लोकप्रिय भएको छ जुन कम्पनीले मापसे गरेर गाडी चलाउन नपाएकालाई सेवा दिन्छ, बिहानै मन्दिर जान चालक नपाएकालाई चलाक दिन्छ। समग्रमा २४ सै घन्टा सेवा दिन उनको कम्पनी तयार छ।
'हामीले १० जना चालकबाट सुरु गरेका हौं। यति राम्रो प्रतिक्रिया पाएका छौं कि अब सेवा नबढाई सुखै छैन,' जावलाखेल अफिसमा मुस्कान छर्दै इच्छाले भनिन्।
'डायल अ ड्राइभर' अर्थात सवारी चालक उपलब्ध गराउने नयाँ बिजनेस सहरमा भिœयाइन् उनले। अंग्रेजी नयाँ वर्षसँगै १० जना ड्राइभर राखेर उनले यो नयाँ र सेवामूलक बिजनेस सुरु गरेकी हुन्। 'निकै राम्रो रेस्पोन्स आइरहेको छ,' जोशीले भनिन्, '१० जनाले मात्र थेग्न गाह्रो हुन थाल्यो, केही समयमा हामी चालक थप गर्छौं।'
बिजनेसमा सम्भावना र चुनौती दुवै हुने उनले बुझेकी छन्। बिजनेस सुरु गर्नुअघि उनले पनि बजारको अध्ययन गरिन्। विदेशमा पहिलेदेखि नै यस्तो सेवा सुरु भएको उनले थाहा पाएकी थिइन्। त्यहाँ यस प्रकारको सेवाको प्रभावकारिता हेरिन्। 'मुम्बई, अस्ट्रेलिया लगायत ठाउँमा यस्तो व्यापार फस्टाएको थाहा पाएपछि मलाई हौसला मिल्यो,' जोशीले भनिन्।
उनको कम्पनीमा सेवा प्रदानको आफ्नै नियम छ। निश्चित समय र शुुल्क उनले तोकेकी छन्। न्यूनतम चार घन्टा चालक लिनुपर्छ र शुल्क ६ सय रुपैयाँ तिर्नुपर्छ। चार घन्टाभन्दा बढी चालक लिन चाहे घन्टाको १ सय ५० का दरले थपिँदै जान्छ। ट्याक्सी सेवाभन्दा आफ्नो कम्पनीले उपलब्ध गराएको सेवा सस्तो भएको जोशी दाबी गर्छिन्।
सेवा लिन चाहनेले कम्तीमा तीन घन्टाअघि फोन गरेर चालक बुक गराउनुपर्छ। चालक र समय बुक गराइसकेपछि उनीहरू तोकिएको समयमा र बोलाइएको स्थानमा पुग्ने गर्छन्। चालकलाई सेवाग्राहीले बोलाएको स्थानमा पुर्यानउने र ल्याउने काम कम्पनीले नै गर्छ। 'यसो गर्दा चालकलाई प्रेसर फिल हुँदैन र समयको समेत बचत हुन्छ,' जोशी भन्छिन्।
कम्पनीले इमरजेन्सी सर्भिस पनि दिने गरेको छ। त्यसका लागि अतिरिक्त शुल्क तोकिएको छ। 'कहिलेकाहीँ अकस्मात चालक आवश्यक हुन्छ, त्यस्तो बेला पनि हामीले अतिरिक्त शुल्कका साथ सेवा दिने गरेका छौं,' जोशीले भनिन्, 'यसलाई हामी इमरजेन्सी रेस्क्यू भन्छौं।' कहिलेकाँही मानिस अचानक नसोचेको ड्राइभिङ समस्यामा पर्योश भने उसलाई यस्तो सेवा लाभदायक हुने उनी बताउँछिन्।
सेवा सुरु गर्ने समयमा के होला, कस्तो होला भन्ने डर थियो उनमा। अहिले ठिक क्षेत्र समातेको ठान्छिन्। सेवाको माग बढेपछि उनी आकार बढाउने धुनमा छिन्। यसले मापसे गर्नेहरूलाई मात्र होइन, अन्य काममा व्यस्त रहनुपर्ने मानिसलाई पनि दैनिक जीवन सहज बनाउन मद्दत गर्ने जोशीको विश्वास छ।
'सबैले ड्राइभर राख्दैनन् तर कहिलेकाहीँ ड्राइभर नभई नहुने अवस्था आउँछ। त्यो बेला कहाँ खोज्ने?' उनले भनिन् 'केही समयलाई मात्र चालक चाहिनेहरूको पनि समाधान हामी हौं।' बिहान मन्दिर जानेदेखि उपचार गर्न अस्पताल पुग्नेलाई समेत यो 'आइडिया'ले सहयोग पुर्या एको प्रतिक्रिया पाएकी छन् उनले।
'काठमाडौंमा पार्किङको समस्या छ। यो झन्झट उठाउन नचाहनेले पनि हामीलाई सम्झन्छन्,' व्यापारको दायरा फराकिलो बन्दै गएको बताउँछिन् उनी।
कम्पनीमा कहिलेकाहीँ गाडीसहित चालक उपलब्ध गराउन पनि फोन आउने गर्ने गरेको जोशीले बताइन्। 'तर, हामी गाडी होइन चालक मात्र उपलब्ध गराउँछौं, यो नै हाम्रो विशेषता हो,' उनी भन्छिन्।
झट्ट हेर्दा सजिलो लाग्ने यो व्यापार चुनौतीपूर्ण रहेको उनले छिट्टै चाल पाइन्। सेवाग्राहीलाई ठिक समयमा, सही गन्तव्यमा पुर्याोउनु र सजिलो पार्न चुस्त व्यवस्थापन हुनैपर्ने बुझेकी छन्। त्यसैले उनी आफैं मोर्चा सम्हाल्न कस्सिएकी छन्।
'कता मेकअप आर्टिस्टको काम, कता चालक व्यवस्थापनको जिम्मा। दुई क्षेत्रमा साह्रै नै विरोधाभास भएन?'
उनको जबाफ छ, 'जुन क्षेत्रमा लागे पनि त्यहाँ व्यापारको सम्भावना हेर्ने बानी छ मेरो। योभन्दा बिल्कुलै भिन्न व्यापारमा पनि हात हाल्न सक्छु सम्भावना देखेँ भने।'
Source: Nagarik
No comments:
Post a Comment
कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !