पोखरा - विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले पोखराको पर्यटन विकासमा सघाउने भएको छ। त्यसका लागि आइएफसीको प्रारम्भिक अध्ययन टोली आएको छ। टोलीले बिहीबार स्थानीय स्तरका प्रशासनिक निकाय र पर्यटन व्यवसायीसँग लगानी क्षेत्र र सम्भावनाबारे छलफल गरेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले बताए।
‘पोखराको पर्यटन क्षेत्रमा लगानीको अवस्था र आवश्यकताबारे बुझ्न आएका हुन्। हामीले सम्भावित क्षेत्रबारे बताएका छौं,' उनले भने, ‘लगानी भित्र्याउन पहल गर्ने उनीहरुको योजना हो।' थपलियाका अनुसार टोलीलाई आवश्यक परियोजनाबारे जानकारी गराइएको छ।
पोखराको विकासका लागि आवश्यक ठानिएको चक्रपथ, आधुनिक बसपार्क, बोटानिकल गार्डेन, चिडियाखाना, साइकल लेन, क्रिकेट मैदान, स्वदेशी बजार, यशोधरा मेमोरियल पार्क, पोखरा टावर, म्युजिकल वाटर फाउन्टेन, सिर्जना ग्राम लगायत १६ आयोजनाबारे टोलीलाई जानकारी गराइएको छ। ‘यीमध्ये केहीमा सघाउने बताएका छन्। हामीले सुझाएका केही आयोजना निकै रुचाएका पनि छन्' उनले भने।
आइएफसीले पोखरा आएका पर्यटकको बसाइ र खर्च बढाउन सघाउने उपायमा परामर्श दिन पर्यटन मन्त्रालयसँग हालै सम्झौता पनि गरेको थियो। व्यवसायीका अनुसार पोखरा आएका पर्यटकको औसत बसाइ अवधि अनुपातमा २ रात ३ दिन र प्रतिदिन खर्च सय अमेरिकी डलर छ। आइएफसीले बसाइ अवधि दोब्बर र प्रतिदिन खर्च ५० प्रतिशत बढाउन सघाउने गरी नेपाल सरकारलाई परामर्श दिने गरी सम्झौता गरेको छ।
त्यस्तै लगानीयोग्य ५ आयोजनाको अध्ययन गरी एउटालाई उदाहरणीय बनाउन सघाउने सम्झौता पनि गरेको छ। अन्तर्राष्ट्रिय मापदण्डका तीनवटा साइकल लेन र दुईवटा छोटो दुरीको पदयात्रामार्गको सम्भाव्यता अध्ययन गर्ने समेत सम्झौतामा उल्लेख छ। सरकारलाई परामर्श दिने गरी अध्ययन गर्न मात्र उसले १ करोड ५० लाख रुपैयाँ खर्च गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाका अनुसार पोखरा र आसपासका पर्यटकीय क्षेत्रको विकासमा सघाउन आइएफसीसँग सम्झौता गरिएको हो। ‘आइएफसी आफैंले लगानी गर्ने होइन। पर्यटन उद्योगको विकासका लागि परामर्श दिनेछन्,' उनले भने, ‘पर्यटन बजार बिस्तारमा उनीहरुको परामर्श उचित हुन सक्छ।' उनका अनुसार आइएफसीसँग अहिले परामर्शको सम्झौता मात्र भएको हो। आइएफसीको परामर्श अनुसार सरकारले योजना बनाउने हो।
‘पोखराबाहेक अन्नपूर्ण र धवलागिरीको ढोरपाटन क्षेत्रलाई समेत समेटेर आइएफसीले परामर्श दिनेछ' उनले भने, ‘आइएफसीसँग सहकार्य गर्दा सम्भाव्य क्षेत्रमा लगानी भित्रिन सक्छ।' उनका अनुसार आइएफसीले पर्यटनको विकासको लागि सम्भाव्य क्षेत्रमा लगानी गर्नेगरि अन्तर्राष्ट्रिय लगानीकर्तालाई भित्रयाउन पनि सघाउँछ। ‘अन्तर्राष्ट्रिय लगानीकर्तालाई भित्रयाउने हो भने पर्यटन क्षेत्रको थप विकास हुन्छ। त्यसका लागि आइएफसीको परामर्श फलदायी हुनसक्छ' उनले भने। अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपाली लगानीकर्तासँग मिलेर पर्यटन क्षेत्रमा लगानी गराउने मध्यस्तकर्ताको भूमिकामा पनि उसले परामर्श दिन सक्ने उनले बताए।
पर्यटन व्यवसायीले पोखराको विकासको लागि अध्ययन जरुरी रहेको बताए। ‘ठुला लगानीकर्ता आवश्यक छन्। साना आयोजनामा लगानी गर्न स्वदेशी आफै सक्षम छन्। तर ठुला आयोजनामा विदेशी लगानी आवश्यक छ' पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरत पराजुलीले भने, ‘ठुला आयोजना भित्रयाउने गरि अध्ययन हुनु जरुरी छ। लगानी पनि आउनुपर्नेछ। ठुला लगानीकर्ताको खाँचो छ।' पोखरामा अझै ठुला लगानीका तारे होटल आवश्यकता रहेको र त्यसमा विदेशी लगानी भित्रिनु उपयुक्त हुने उनले बताए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले पनि पोखराको विकासका लागि गहन अध्ययन जरुरी रहेको बताए। ‘पोखरा आएका पर्यटकको बसाई अवधि लम्बाउने उपयुक्त सुझावका लागि यस्ता अध्ययन जरुरी छ। यसले व्यवसायीलाई सचेत गराउँनेछ' उनले भने, ‘बसाई अवधि लम्बाउनका लागि पूर्वाधार आवश्यक छ। के कस्ता पुर्वाधार चाहिन्छ भन्ने उचित सुझाव आउनुपनि जरुरी हो।'
Source: Nagarik
No comments:
Post a Comment
कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !