ताजा खबरहरु

इन्टरनेटबाट बैंक खाताको रकम चेर्ने पक्राउ

    दाङ  – इन्टरनेट सिस्टमबाट बैंक खाताको रकम चोरी गर्ने गिरोहका 'मुख्य नाइके'को आरोपमा प्रहरीले दाङका एक युवकलाई पक्राउ गरेको छ। बैंक खाताको रकम चोरी गर्ने गिरोहको नाइके रहेको आरोपमा लमहीका सञ्जय पौडेल पक्राउ परेका हुन्। उनलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिई केन्द्रीय अनुसनधान ब्यूरोलाई जिम्मा लगाइसकेको छ। 



     ब्यूरोले केही दिन अघि बैंक खाताको रकम इन्टरनेटबाट चोरी गर्ने अभियुक्तको आरोपमा दाङकै जनक कार्कीलाई नियन्त्रणमा लिएको थियो। कार्कीको ठेगाना दाङ मात्रै उल्लेख गरिएको छ। कार्कीसँगको अनुसन्धानका क्रममा उनले आँफू इन्टरनेट सिस्टमबाट रकम चोरी गर्ने गिरोहको सहयोगी मात्रै भएको भन्दै मुख्य नाइके मंगलबार पक्राउ परेका लमहीका पौडेल रहेको बयान दिए। कार्की कै बयानका आधारमा ब्यूरोले पौडेललाई नियनत्रणमा लिन लमही प्रहरीलाई पत्राचार गर्यो। ब्यूरोको पत्राचार अनुसार लमही प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 


     पौडेलले प्रहरीको प्रारम्भिक अनुसन्धानमा आँफूले रकम चोरी नगरेको तर बैंक खाताको रकम चोरी गर्न सक्ने सफ्टवेयरको कारोवारी भएको स्वीकारेका छन्।लमहीमा 'रिहार इलेक्ट्रोनिक्स' पसल गरेका पौडेलले आँफूले इन्टरनेटबाटै ह्याक गरेर बैंक खाताको रकम निकाल्न सकिने सफ्टवेयर बिक्री गरेको भएपनि आँफूले रकम भने ननिकालेको बयान दिएका छन्। प्रहरीको प्रारम्भिक अन्ुसन्धानका क्रममा उनले 'बिट प्वाइन्ट'नामक दुईवटा सफ्टवेयर अमेरिकाबाट खरिद गरि काठमाडौँमा ३० हजारमा बिक्री गरेको बयान दिएका छन्। 


      उनले यो सफट्वेयर मार्फत बैंकिङ सिस्टममा जान सकिने र बैंक खाताको रकम 'ट्रान्सफर' गर्न सकिने सफ्टवेयर रहेको समेत बयान दिएका छन्। 'उसले बैंकको खाताको रकम ट्रान्सफर गर्न सकिने डेन्जर सफ्टवेयरको कारोवार गर्दो रहेछ,'लमही प्रहरीका प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीले नागरिकन्युजसंग भने 'यो सफ्टवेयरबाट बैंक खाताको पैसा निकाल्न सकिन्छ भनेर उ आँफैले स्वीकारेको छ।' प्रहरीका अनुसार उनले प्रयोग गरेको सफ्टवेयर नेपालमा प्रतिबन्धित समेत रहेको छ। पौडेलले झण्डै दुई वर्ष अघि भारतमा आँफूले कम्प्युटर सिक्ने क्रममा यो सफ्टवेयरको बारेमा सिकेको बताएका छन्। 


      झण्डै डेढ वर्षको भारत बसाइका क्रममा उनी बिट प्वाइन्ट नामक सफट्वेयरका बारेमा समेत पोख्त बनेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। उक्त ज्ञान लिएपछि पौडेल भारतबाट घर फिरेको समेत खुलेको छ। भारत बसाइकै क्रममा अमेरिकाका एक व्यक्ति मार्फत आँफूले दुईवटा सफ्टवेयर खरिद गरेको समेत प्रहरी समक्ष बयान दिएका छन्। 'अममेरिकाका एक व्यक्तिबाट यो सफ्टवेयर किनेर काठमाडौँमा बिक्री गरेको बयान दिएको छ,'शाहीले भने 'यति खतरनाक मान्छेलाई समात्न सक्नु ठूलो सफलता हो।' प्रहरीका अनुसार यो सफ्टवेयर इन्टरनेटबाटै खरिद बिक्री गर्न सकिन्छ। पौडेलले दिएको बयान अनुसार यो सफट्वेयर मार्फत कुनै पनि बैंकको खाता सम्म पुग्न सकिन्छ। अनि जुनसुकै खाताको रकम सोही बैंकको अर्को खातामा ट्रान्सफर गर्न सकिन्छ। 


     आँफूलाई उक्त सफ्टवेयरको बारेमा ज्ञान भएको र बिक्री गरेको भएपनि यसको प्रयोगबाट आँफूले रकम भने चोरी नगरेको पौडेलले बयान दिएका छन्। उनले आँफूबाटै खरिद गरेको ब्यक्तिले आफ्नो 'सफट्वेयर अकाउन्ट'दुरुपयोग गरेर रकम चोरी गरेको हुन सक्ने बताए। 'उसले आँफूले बैंक खाताको रकम चोरेको छैन भनेको छ,'शाही भन्छन् 'आफ्नो नामबाट कसैले गरेको हुन सक्छ भनेर बयान दिएको छ।' शाहीलेे यो घटनालाई नेपालकै सम्भवतःपहिलो घटना भएको बताएका छन्। उता केहीदिन अघि पक्राउ परेका कार्कीले भने पौडेलनै यसको मुख्य नाइके भएको बयान दिएका छन्। 


      केन्द्रीय अनुसन्धान व्यूरोमा बुझाइएका पौडडेलको बारेमा ब्यूरोले अनुसन्धान थालेको छ। ब्यूरोलेनै सुरु यो मुद्दा हेरेकाले वडा प्रहरी कार्यालयले पौडेललाई सामान्य सोधपुछ गरी थप अनुसन्धानका लागि काठमाडौँ पठाइसकेको छ। बैंक खाताको रकम चोरी गर्ने ह्याकरहरुको गिरोह पत्ता लागेको भएपनि यो गिरोहले कति रकम चोरी गरेको भन्ने बारेमा भने जानकारी आइसकेको छैन।'उसले रकम कति चोर्यो,भन्ने विषयमा ब्यूरोकै अनुसन्धान पछि खुल्ला', शाहीले भने, 'तर यति साह्रो डरलाग्दो घटनाले लमहीबासीहरुमा त्रासदी सुरु भएको छ।' उनका अनुसार बैंकमा रकम जम्मा गरेका लमहीबासीहरु रकम असुरक्षित हुने भयमा छन्।


Source : Nagarik News

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.