ताजा खबरहरु

सन् २०११ का प्रमुख वैज्ञानिक आविष्कार

आकाशमा उड्ने मर्टिन जेटप्याक

आकाशमा उड्न हवाई जहाज, जेट वा ग्लाइडरको प्रयोग गर्दै आएका मानिसले मर्टिन जेटप्याकको सहायताबाट आकाशमा चराझैं स्वतन्त्र उडन पाउने भएका छन्। न्युजिल्यान्डको मार्टिन जहाज निर्माता कम्पनीका ग्लेन मर्टिनले मानिसलाई आकाशमा उड्न सघाउने मर्टिन जेटप्याकको आविष्कार गरेका छन्। उनले आविष्कार गरेको जेटप्याकको सहायताबाट कुनै पनि व्यक्ति आफू जान चाहेको ठाउँमा सजिलै उडेर जान सक्छन्। त्यस्ता व्यक्तिले सानो दूरीका लागि हवाई जहाजको प्रयोग गर्नु पर्दैन।


मर्टिन जेटप्याक २ सय हर्स पावरको ग्यासोलिन इन्जिनजडित एक विशेष किसिमको उपकरण हो, जसलाई आकाशमा उड्न चाहने मानिसले लुगाजस्तै लगाउनुपर्ने हुन्छ। यो कुनै जेट वा हवाई जहाज जस्तो यान पनि होइन तर यो उपकरणमा जहाजको जस्तै दुईवटा पंखा जडान गरिएका छन्, जसको सहायताबाट मानिस आकाशमा ८ हजार फिटको उचाइसम्म प्रतिघन्टा ९० किलोमिटरको गतीमा उड्न सक्छ। उक्त जेटप्याकमा अहिलेलाई आधा घन्टासम्म पुग्ने इन्धन भर्न सकिन्छ। १ लाख डलर मूल्यको मर्टिन जेटप्याक सुरक्षा संवेनशीलता तथा अत्यन्त आवश्यक परेको अवस्थामा प्रयोग गर्न सकिने निर्माता ग्लेन मर्टिनले बताए। मर्टिन जेटप्याकको व्यावसायिक उत्पादन एवं विकसित स्वरूप तयार हुन बाँकी नै छ।

कृत्रिम हात

जन्मजात हात नहुने वा कुनै कारणवश हात गुमाउनेहरूका लागि खुसीको खबर छ। अमेरिकी मार्क स्टार्कले प्रोस्थेटिक ह्यान्ड नामक अति आधुनिक कृत्रिम हातको विकास गरेका छन्। स्टार्कले ह्यान्ड नाम गरेको उक्त हातले साँच्चैको हातको जस्तो काम गर्छ। कुमको सहायताले उक्त हात र हातका औंला चलाउन सकिन्छ। उक्त हातको सहायताबाट भारी पनि उचाल्न सकिन्छ भने अरू कामहरू नियमित हातले झैं गर्न सकिन्छ। सात वर्ष लगाएर यो वर्ष मात्र तयार भएको उक्त हातको मूल्य १८ हजार डलर छ। यो हातको औद्योगिक उत्पादन हुन थालेपछि सस्तो हुने अपेक्षा गरिएको छ।


डायनामिक सन ग्लास

खास गरेर सवारी साधन चालकहरूका लागि आविष्कार गरिएको यो एक विशेष प्रकारको चस्मा हो जसलाई लगाएको खण्डमा विपरीत दिशातर्फबाट आएको चर्को र तेजिलो प्रकाशको कुनै असर पर्दैन। दिउँसोको सूर्यको तेजिलो प्रकाश होस् वा रातिविपरीत दिशातर्फबाट आएको सवारी साधनको आँखै तिरमिराउने प्रकाश होस्। यस्ता सबै प्रकाशलाई परिवर्तन गरी अगाडिको वस्तुलाई हेर्न सहज तुल्याइदिने र टाउको तथा शरीर दुख्नसमेत कम गर्ने यो चस्माका आविष्कारक हुन्- अमेरिकी नागरिक क्रिस मुलिन। उनले यो चस्मामा एलसिडी पद्धति प्रयोग गरेका छन्।

शुद्धीकरण मेसिन

यो चमत्कारिक मेसिनको आविष्कार गर्ने व्यक्ति हुन् पेनसाकोलाका अमेरिकी नागरिक नामन नासेफ। विगत सात वर्षको अथक प्रयास, अध्ययन, अनुसन्धानपछि उनले सन् २०११ मा यस मेसिनको आविष्कार गर्न सफलता पाएका हुन्। उनले आविष्कार गरेको यो मेसिनलाई कार, बस, हवाईजहाज, रेल, चर्पी आदि जहाँ पनि प्रयोग गर्न सकिन्छ। एकदमै हलुका र कुनै रासायनिक तत्वको प्रयोगबिना नै फोहरमैला, धूलो, धूवाँ, दुर्गन्ध आदि सबैलाई क्षणभरमै शुद्धीकरण गर्ने यो मेसिन वातारणमैत्री छ। यो मेसिनलाई गाडीमा जडान गरे गाडीले फ्यांक्ने कार्बनसहितको दुर्गन्धित धूवाँको मुस्लो र गन्हाउने तरल र ग्यासलाई शुद्ध गरेर गन्धरहित मसिनो पदार्थ र ग्याँसमा परिणत गरिदिन्छ। यो मेसिनले चर्पी, ढल आदि सबै किसिमको फोहरलाई शुद्धीकरण गरी स्वच्छ, दुर्गन्ध र हानिरहित पदार्थ र ग्याँसमा परिणत गरिदिन्छ। लुगा धुने मेसिन प्रयोग गरेर तयार पारिएको यो मेसिन थर्मल सिस्टममा आधारित छ। यो मेसिन विश्वव्यापी रूपमा घरघरमा जहाँतहीँ व्यावहारिक प्रयोगमा आउने विश्वास गरिएको छ।

मुटु जाँच्ने मिरर

अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी डिपार्टमेन्टका विद्यार्थी एवं वैज्ञानिक मिङ झेर फोले एउटा यस्तो सफ्टवेयर आविष्कार गरेका छन्, जसको सहायताबाट कुनै पनि मानिसले क्षणभरमै आफ्नो मुटुको अवस्था थाहा पाउन सक्छन्। मुटुका बिरामीहरूका लागि मात्र होइन, कुनै पनि मानिसले आफ्नो मुटुको अवस्थाका बारेमा थाहा पाउन अस्पताल धाइरहनुपर्ने छैन। केवल आफ्नो कम्प्युटरमा जडान गरिएको वेवक्यामजस्तो क्यामेराका अगाडि वा त्यस्तो क्यामेरा र सफ्टवेयर भएको कम्प्युटर अगाडि उभिए पुग्नेछ। कम्प्युटरले मानिस उभिनासाथ हृदयको धड्कनको गति र मुटुको अवस्थाका बारेमा तुरुन्तै जानकारी दिन्छ।

अपराध नियन्त्रण गर्ने पञ्जा

डिजाइनर डेभिड ब्राउनले अपराधीहरूलाई नियन्त्रणमा लिन वा धपाउन एक विशेष किसमको हाते पञ्जाको विकास गरेका छन्। उच्च शक्तिको करेन्ट लाग्ने, भिडियो क्यामेरा तथा लेजर पोवाइन्टर समेत जडान भएको यो पञ्जाको विकास विशेष गरेर पुलिसहरूका लागि गरिए पनि अपराधीहरूबाट सुरक्षा चुनौती भएका सर्वसाधरणले पनि प्रयोग गर्न सक्छन्। यो पञ्जा अपराधीहरूलाई नियन्त्रण गर्न, धपाउन वा लड्ने उद्देश्यले विशेष किसमले निर्माण गरिएको छ। यो पञ्जामाथि धारिलो हतियार वा कुनै वस्तुले प्रहार गर्दा पनि सुरक्षित रहन सकिन्छ। हातमा लगाउन सजिलो यो पञ्जालाई विकास गर्न सात वर्ष लागेको डिजाइनर डेभिड ब्राउन बताउँछन्।

विषादी मापक यन्त्र

यो यन्त्र कोठाको भित्तामा जहाँसुकै पनि राख्न सकिन्छ। यो यन्त्रले आफ्ना कोठा वा घरमा भएका खाद्यपदार्थदेखि सबै कुरामा केकति विषादी वा स्वास्थ्यका लागि हानिकारक पदार्थ छन् भन्ने कुरा एकैछिनमा पत्ता लगाउन सक्छ। यसले कोठा वा भान्साभित्र खाद्यपदार्थ, फर्निचर अथवा लगाउने कपडाभित्र रङ्ग र गन्धविहन अवस्थामा रहेका विषादी तथा रसायनहरू केकति छन् भने कुरा पत्ता लगाउँछ। जेनेभाको २०११ को प्रदर्शनीमा यो उपकरणले रजत पदक प्राप्त गरेको छ। यो उपकरणको विकास टेक्सटायल एण्ड क्लोथिङ इन्स्टिच्युटकी जिनलियन हु ले विकास गरेकी हुन्।

उडने कार

संसारकै पहिलो उड्ने व्यावसायिक कार यसै वर्षदेखि बजारमा आएको छ। सन् २००६ मा अमेरिकामा यो कारको आविष्कार भए पनि टेराफुजिया कम्पनीले यस वर्षदेखि मात्र यसलाई व्यावसायिक प्रयोजनका लागि बजारमा ल्याएको हो। यो कार आकाशमा उड्न सक्छ भने सडकमा गुडन पनि सक्छ। यो कार जहाज र कारको दुवै इन्जिनियरिङ पद्धति प्रयोग गरेर डिजाइन गरिएको छ। कारमा जडान गरिएको दुइटा आफैं बन्द हुने र खुल्ने पंखाका कारण यो कार आकाशमा उड्न सक्छ। यो कार चलाउन कम्तीमा पनि २० उडान घन्टाको तालिम लिनुपर्ने हुन्छ। यो कार १ लाख ९४ हजार डलरमा किन्न सकिन्छ।

बहुपयोगी क्यामेरा

अमेरिकाकै नर्थवेस्टर्न र इलियन्स विश्वविद्यालयको एक संयुक्त टोलीले मानिसको आँखाजस्तै अत्यन्तै सानो र बहुपयोगी क्यामेरा विकास गरेको छ। ३ दशमलव ५ एक्स अप्टिकल जुम लेन्स समेत भएको यो क्यामेराले रातिको गतिविधिसमेत खिच्न सक्छ। रोबोटले जस्तै कार्य गर्ने यो क्यामेराको अर्को विशेषता भनेको मानिसको शरीर वा कुनै वस्तुको भित्री तहमा रहेका गतिविधिको तस्बिर उतार्नु पनि हो। यो क्यामेराको अर्को विशेषता के हो भने यो परिस्थितिअनुसार आफैं खुम्चिन र तन्किन सक्छ। यो क्यामेराको अग्रभागमा सिलिकन फोटो डिटेक्टर जडान गरिएको छ।

टचलेस टेक्नोलोजी

संसारमै प्रथम पटक एक इजरायली इलेक्ट्रोनिक कम्पनी एक्सटीआर थ्रिडीले टचलेस टेक्नोलोजिको विकास गरेको छ। यो टेक्नोलोजीको विकासपछि अब मानिसले कम्प्युटर, टिभी, मोबाइल आदि कुनै पनि साधन शरीरको हाउभाउको भरमा र हातको इसाराको माध्यमबाट चलाउन सक्छन्। यो प्रविधिको विकासले अब रिमोट कन्ट्रोलबाट टिभी चलाउने र स्क्रिनमा टच गरी मोबाइल चलाउने जमानाको पनि अन्त्य हुनेछ। टचलेस टेक्नोलोजीको विकास पनि टचस्क्रिन कम्प्युटरको अवधारणाबाटै भएको हो।

कम्पनीको एक्सटीआर थ्रिडी वेबसाइटमा उल्लेख भएअनुसार हातको इसाराका भरमा टेलिभिजन, कम्प्युटर र मोबाइलको कुनै पनि प्रोग्राम चलाउन सकिन्छ। यो प्रविधिअनुसार स्मार्ट फोनमा द्वैआयामिक क्यामेरा जडान गरिएको हुन्छ, जसले त्रिआयामिक गतिविधि सहजै सञ्चालन गर्न सकिन्छ। सर्वसाधारणले किन्न सक्ने मूल्यमै सन् २०१२ देखि यो प्रविधि बजारमा उपलब्ध हुने कम्पनीका प्रवक्ता रोय रामातीले दाबी गरेकी छिन्।


source:eKantipur

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.