ताजा खबरहरु

भूइँचालो आएपछि कता हराए नेता ?

युवा शक्तिलाई उद्दारमा खटाउनुपर्नेमा घर फर्काइँदै


१६ वैशाख, काठमाडौं - आन्दोलनमा सहभागी नहुने कार्यकर्ताको सदस्यता खारेज गर्ने धम्की दिने पार्टीहरुले राष्ट्रिय संकटका बेला आफ्ना कार्यकर्ताहरुलाई यस्तो कुनै कडा निर्देशन जारी गरेका छैनन् । भूकम्प आउनुभन्दा अघिसम्म टीभीमा अनुहार देखिइरहने नेताहरुको अहिले चालचुल सुनिँदैन ।
main-leaders
राजधानीमा बसेर आफ्नो राजनीतिक भविष्य बनाउने दलका नेता-कार्यकर्ताहरु राहत, पुनःस्थापनाको काममा एकजुट हुनु त कता हो कता, उल्टै काठमाडौंबाट कार्यकर्तालाई गाउँमा भगाउन निःशुल्क बसको व्यवस्था गरिरहेका छन् र भूकम्पबाट पीडित नभएका राजधानीका सुरक्षित व्यक्तिको स्वयंसेवामा खटिएका छन् ।
आश्वासन र प्रतिवद्धता बाँड्न मिडियामा सबैभन्दा धेरै आउनेहरु राजनीतिक दलका नेताहरु नै हुन् भन्दा दुईमत हुँदैन । भूकम्प आउनुअघि नेताहरुले टेलिभिजनमा अनुहार देखाउँथे । तर, भूम्कम्प गएको चार दिन बितिसक्दा उनीहरु गुमनाम जस्तै छन् । आखिर भुइँचालो आएपछि कहाँ गए नेताहरु ? अनलाइनखबरको रिपोर्टिङ
नेपाली कांग्रेस
नेपालको सबैभन्दा ठूलो पार्टी हो कांग्रेस । सरकारको नेतृत्वमा पनि कांग्रेस नै छ । कहाँ छन् कांग्रेसका नेताहरु ? कांग्रेसले पार्टी तथा भातृृसंस्था एवम् शुभेच्छुक संस्थाका सबै निकायहरुलाई उद्दार तथा राहत सहयोग उपलब्ध गराउने कार्यमा सक्रिय रहन निर्देशन दिएको छ । तर, शीर्षनेताहरु भने काठमाडौंमै केन्द्रित छन् ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला राजधानी काठमाडौंमै सक्रिय छन् । भूकम्पको चार दिनपछि सरकारी टेलिभिजनमार्फत् देशवासीका नाममा झारेझुरे सम्वोधन गरेर प्रधानमन्त्री कोइरालाले कुनै राहतको प्याकेज घोषणा गर्न सकेनन् ।
विपत्तिमा दुःख व्यक्त गरे, पीडा पोखे, विदेशीको प्रशंसा गरे । मोदीको टि्वट हेरेर आफ्नो देशमा भुइँचालो गएको थाहा पाएको बताए । सरकारबाट राहतको प्याकेज आउँछ कि भन्ने आशमा रेडियो, टेलिभिजन अगाडि बसेका पीडितहरुलाई प्रधानमन्त्रीले निराश बनाए ।
युवालाई पीडितको उद्दारमा खटिन प्रधानमन्त्रीले आह्वान गरेकै दिन यातायात मन्त्री विमलेन्द्र निधीले काठमाडौंबासीलाई प्रकोपग्रस्त क्षेत्रको साटो घर र्फकने सुविधा प्याकेज घोषणा गरे । कांग्रेसका कार्यकर्ताले गाउामा बाड्नुपर्ने रेडक्रसको त्रिपाल काठमाडौंका नक्कली पीडितलाई बाँडेर सिध्याए ।
सहयोग कोष गठन
कांग्रेसले बैठक ‘भूकम्प पीडित सहयोग कोष’ गठन गरेको जनाएको छ । कांग्रेसले भूकम्प पीडितहरुको उद्दार, उपचार र राहतको काममा अनुगमन गर्न वरिष्ठ नेता शेरबहादुर देउवालाई जिम्मा दिइएको बताएको छ ।
त्यस्तै सरकार र सरकारी निकायबीच समन्वय समितिको जिम्मा उपसभापति रामचन्द्र पौडेललाई, सूचना संकलन तथा संप्रेषण समितिको जिम्मा महामन्त्री कृष्ण सिटौलालाई र राहत संकलन समितिको जिम्मा गोपालमान श्रेष्ठलाई दिइएको छ ।
यसैगरी अन्तर्राष्ट्रिय सम्पर्क समितिको जिम्मा सुजाता कोइरालाले र उपचार सहयोग समितिको जिम्मा डा. सशांक कोइरालाले पाएका छन् । शिविर व्यवस्थापन समिति बलबहादुर के.सीले र खाद्य व्यवस्थापन सहयोग समिति मानबहादुर विश्वकर्माले सम्हालेका छन् ।
तर, कांग्रेसको भनेको शिविर राजधानीका खुला चौर र सडकमा टाँगिएका त्रिपाल हुन् । उता घरबार गुमाएका पीडितहरु आधा शरीर छोपेर रात कटाइरहेका छन् ।
यस्तो विपत्तिका बेला सरकार र पार्टीको भूमिका प्रभावकारी नदेखिएको भन्दै कांग्रेसकै नेताहरु रुष्ट बनेका छन् । अनुगमन समितिका सहसंयोजक रहेका डा. शेखर कोइरालाले सरकारको काम चित्तबुझ्दो नभएको भन्दै व्यक्तिगत पहलमा राहत संकलन र वितरण थालेका छन् ।
ओखलढुंगाका कांग्रेस सभासद रामहरी खतिवडा त्रिपाल, कम्बल र केही खाद्यान्नसहित गृहजिल्ला पुगेका छन् । केही सभासदहरु जिल्लामा परिचालन भए पनि धेरैजसो काठमाडौंमै दौडधूपमा व्यस्त छन् ।
एमाले के गर्दै छ ?
एमाले अध्यक्ष केपी ओली पनि काठमाडौंमै छन् । बालकोटस्थित निवास, सिंहदरबार र बालुवाटारसम्म पुग्छन् । ओलीसहित झलनाथ खनाल, माधव नेपाल लगायतका केही नेताहरु वरपरका क्षेत्रमा गएर पीडितहरुलाई भेट्छन्, आश्वासन दिन्छन् । तर, उनीहरुले पीडितको उद्दारमा खटाउन कार्यकर्ताहरुलाई खटाउन सकेका छैनन् । उल्टै एमाले अखिलकै कार्यकर्ताहरु सिन्धुपाल्चोक, धादिङ लगायतका जिल्लामा जानुको साटो निःशुल्क बसको व्यवस्था गरेर काठमाडौंबाट जनतालाई गाउँ फर्काउन व्यस्त छन् । अखिलले गाउँ फर्काउन ५ सय बसको व्यवस्था गरेको थियो ।
युवा संघ नेपालले पनि प्रकोपग्रस्त जिल्लामा कार्यकर्ता परिचालन गर्नुको साटो खुल्लामञ्चमा ट्वाइलेट बनाउनेदेखि पशुपतिमा फिनेल छर्किनेसम्मको कार्यक्रम बनाएको छ ।
दलका नेता कार्यकर्ताले उद्दारमा गर्नुपर्ने प्राथमिकता निर्धारण गर्न सकेको देखिँदैन ।
‘खुलामञ्चमा त्रिपालमुनि बस्दै आएका एक पीडितले भने, ‘हाम्रो देशमा उद्दारका लागि विदेशीहरु आउँछन् तर, राजधानीमा बसेर आफ्नो जिन्दगी बनाउनेहरु आपतमा सहयोग गर्नुको साटो गाउँ फर्कन्छन् । सरकारले दिने सुविधा पीडितसम्म पुग्न नदिई आफैं खान्छन् ।’
एमालेले भूकम्पको विपत्तिमा परेका पीडितहरुलाई राहत, उद्दार र सहयोगको समन्वय गर्न महासचिव ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ । यो समितिले भूकम्प प्रभावित जिल्लाहरुमा सम्पर्क समन्वय गरि गुनासाहरु सुन्ने र आवश्यकताका बारेमा सरकारसँग समन्वय गरी तत्काल राहत तथा उद्दारको पहल गर्ने एमालेले जनाएको छ ।
एमालेको मंगलवार बसेको केन्द्रीय सचिवालयको बैठकले प्रवासस्थित सबै पार्टी कमिटीहरुलाई राहत संकलनमा जुट्न निर्देशन पनि दिएको छ । तर, अहिले सभासदहरु आ-आफ्नो जिल्लामा हेलिकोप्टर र राहत सामाग्री माग्दै गृहमन्त्रालयमा धाइरहेका छन् । जिल्लामा गएर प्रमुख जिल्ला अधिकारीसँगै बसेपछि कुन गाउँका जनताको के समस्या छ भन्ने बुझ्न र केन्द्रमा समन्वय गर्न सजिलो हुन्छ भनेर केही सभासदहरु भने जिल्लामा पुगेका छन् ।
एमाओवादी
एकीकृत नेकपा माओवादीले भूकम्प गएको चार दिनपछि प्रभावित जिल्लामा गएर उद्दार, राहत तथा पुनःस्थापनाको काममा खटिन आफ्ना सभासदहरुलाई निर्देशन दिएको छ । यसअघि नेता कार्यकर्ताहरुलाई निर्देशन दिइएको थियो ।
सरकार विरुद्धको आन्दोलनमा सहभागी नहुनेको पार्टी सदस्यता खारेज गर्ने उर्दी जारी गर्ने एमाओवादीले यो राष्ट्रिय विपत्तिका बेला कार्यकर्ताहरुलाई त्यस्तो कडा निर्देशन दिएको छैन ।
मंगलबार बसेको एमाओवादीको बैठकले जिल्ला जिल्लामा नेताहरुलाई खटाउने निर्णय गरेको थियो । अग्नि सापकोटालाई सिन्धुपाल्चोक, हितराज पाण्डेलाई गोर्खामा, हिसिला यमीलाई काठमाडौंमा, वर्षमान पुनलाई ललितपुरमा, झक्कु सुवेदीलाई भक्तपुरमा खटाएको छ । विश्वभक्त दुलाललाई काभ्रेमा, हरिबोल गजुरेललाई सिन्धुलीमा, देवेन्द्र पौडेललाई धादिङमा, गंगा श्रेष्ठलाई दोलखामा, नारायण दाहाललाई मकवानपुरमा, धावा लामालाई रामेछापमा र नवराज सुवेदीलाई रसुवामा खटाइएको छ ।
शनिबारको भूकम्प लगत्तै डा. बाबुराम भट्टराई गोरखामा र अग्नि सापकोटा सिन्धुपाल्चोक पुगेका थिए । अध्यक्ष प्रचण्डले पार्टीका नेता, कार्यकर्ता र ३० दलीय मोर्चालाई पीडितको सेवामा परिचालन हुन निर्देशन दिएका थिए । तर, अध्यक्ष प्रचण्ड काठमाडौंमै छन् । सरकारलाई घच्घच्याउन र जिल्ला तथा केन्द्रबीच समन्वय गर्नुपर्ने भएकाले प्रचण्ड काठमाडौंमै रहेको उनको सचिवालयले जनाएको छ ।
बुधबार पनि प्रचण्डले गृहमन्त्रालय पुगेर उद्दार, राहत वितरण र पुनःस्थापनाको कामलाई तिव्रता दिन आग्रह गरे ।
साना दलहरु विज्ञप्तिमै सीमित
 यसैबीच नेकपा मसालले भूकम्प प्रभावितहरुलाई सहयोग गर्न जनपरिचालन गर्ने जनाएको छ । महासचिव मोहनविक्रम सिंहले विज्ञप्ति निकालेर सरकारको कामकारवाही प्रभावकारी नभएको भन्दै आफ्ना नजिकका बैधानिक मोर्चा, जनवर्गीय संठन र समर्थकहरू समेतलाई पहलकदमी लिन अनुरोध गरेका छन् ।
राष्ट्रिय जनमोर्चाजस्तै साना दलहरुले विज्ञप्ति निकाल्ने, सरकारको भूमिका प्रभावकारी नभएकोमा आलोचना गर्ने र मृतकप्रति समवेदना एवं पीडितप्रति सहानुभूति जनाउने बाहेक भौतिक शक्ति परिचालन गरेको सूचना बाहिर आएको छैन । राप्रपा नेपालले पनि त्यसैगरी विज्ञप्ति निकालेको छ ।

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.