ताजा खबरहरु

“मेरो घर नेपाल भत्कियो” भन्दै कन्सुलर बेल्बिस रोएपछि…

Realmadrid
वसन्त रानाभाट -  OnlineKhabar.com

बार्सिलोना । हजारौले ज्यान गुमाए,लाखौ सडकमा छन्, कति घरभित्रै पिल्सिएका छन्, अझ नेपालका बिकट जिल्लाहरुमा त भूकम्पले यति बिचल्ली बनाईदियो कि मसँग बोल्ने कुनै शब्द छैन, बार्सिलोनास्थित नेपाली कन्सुलर लुईस बेल्बिसले स्पेनिसहरुलाई नेपालकोबारे जानकारी दिदै गर्दा थप बोल्न सकेनन्।
बोल्दा बोल्दै उनको गला अबरूद्ध भयो। उनले त्यति भनिरहँदा उपस्थित स्पेनिसहरुको आँखा पूर्ण रुपमा रसाईसकेका थिए । उनीहरु चश्मा खोल्दै आँशु पुछन् थालिसकेका थिए।

लुईस बेल्बिस
लुईस बेल्बिस
३० बर्षसम्म लगातार कन्सुलर सेवामा रहि नेपालीहरुकै सेवा गर्दै आएका स्पेनिस नागरिक बेल्बिस भन्दै थिए, ‘नेपाल मेरो घर हो। घरका सदस्यहरु अहिले सडकमा आएका छन्। म यति नै प्रार्थना सक्छु उनीहरुको रक्षा गर थप दुःख नदेउ। भूकम्पले थुप्रै बालबालिकाहरु अवस्था नाजुक छ सारा विश्व एकजुट हौ र उनीहरुको रक्षा गरौ ।’
१ सय ३० पटकसम्म नेपाल पुगेका उनी नेपालबारे धेरै बिज्ञ छन्। यति सुन्दर देश आज बिपतमा पर्यो। बर्षौदेखि म नेपाल र नेपालीहरुसँग नजिक छु, आज मेरो मन भत्केको छ फेरि बेल्बिसको गला अबरूद्ध भयो । यसो भनिरहँदा तिम्बती समुदाय स्पेनका पूर्ब अध्यक्ष दावा ऋषि श्रेष्ठले आफूलाई थाम्न सकेनन् र लगाएको कोटको बाउलाले आँशु पुछ्न थाले।
कासा डेल टिबेट र टिबेटीयन समुदाय स्पेनले आयोजना गरेको सो कार्यक्रममा भूकम्पमा ज्यान गुमाउनेहरुको सम्झना गर्दै दीप प्रज्वलन पनि गरिएको थियो। एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरीले देशको पछिल्लो अबस्थाबारे पनि जानकारी गराए। १ हजार २ सय ६० युरो राहत रकम संकलन पनि भएको थियो।

नेपालीहरुले काम गर्ने रेष्टुरेन्टबाट १० हजार युरो सहयोग
बिनाशकारी महाभूकम्पपछि नेपाल र नेपालीहरु प्रति स्पेनिसहरुले ठूलो चिन्ता र चासो ब्यक्त गर्दै आएका छन्। स्पेनमा संचालन गरिएको राहत संकलन अभियानमा उनीहरुले चासो मात्र नलिई आर्थिक रुपमा पनि सहयोग गर्दै सघाएका हुन् । उनीहरुको यो सहयोग र सद्भावले नेपालप्रतिको मायाँ र साहानुभुति प्रष्ट देखिन्छ।
बार्सिलोनामा कातालानहरुले संचालन गर्दै आएको रेस्टुरेन्ट किबुका ग्रुपबाट एकमुष्ट १० हजार युरो सहयोग समेत प्राप्त भएको छ। राहत संकलन अभियानमा साथ दिदै संचालकहरुले भने,” बर्षौदेखि काम गर्दै आउनुभएका तपाईहरुको आज घर भत्केको छ,आफन्तहरुको ज्यान गुमाएका छन् ,यो बिपतको घडीमा हाम्रो तर्फबाट नेपाल र नेपालीहरुकोलागि सहयोग हो।” संघका अध्यक्ष गिरी लगायत अन्य ३० जना नेपालीहरुले सोही ठाउँमा काम गर्दै आएका छन्।

रियल मड्रिडका खेलाडीहरुले “तोदोस् कन नेपाल” लेखेको टिसर्ट लगाए
स्पेनिस जाईन्ट रियल मड्रिड फुटबल क्लबका खेलाडीहरुले “तोदोस् कन नेपाल” लेखेको टिसर्ट लगाउदै भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झना गरेका छन्। फिफा वर्ष खेलाडी क्रिष्टियानो रोनाल्डो लगायतका खेलाडीहरुले सो टिसर्ट लगाउदै मौनधारण गर्दा, घरेलु मैदानको ठुलो स्क्रिनमा नेपाललाई साथ दिउँ भन्दै ऎक्यबद्दता जनाईएको थियो।

nepal-2
यसअघि पनि बार्सिलोना फुटबल क्लब लगायतका अन्य क्लबहरुले पनि खेल शुरु हुनु भन्दा केहि समय अगाडी मौनधारण गर्दै सम्झना गरेका थिए। लालिगा अन्तर्गतका सबै जसो क्लबहरुले यस हप्ता भएका खेल अगावै मौनधारण गरी चिरशान्तीको कामना गरे।

messi-status
यस्तै फिफा बर्ष खेलाडी क्रिष्टियानो रोनाल्डो,लिओनल मेस्सी लगायतका फुटबलरहरुले भूकम्पबाट प्रभावित नेपाली बालबालिकालाई सहयोग गर्न आग्रह गरेका छन् । सामाजिक संजाल मार्फत उनीहरुले सेभ दी चिल्ड्रेनको अभियानमार्फत सहयोग गर्न अपिल गरेका हुन्।

स्पेनमा करिब ३७ हजार युरो संकलन,सहयोगको क्रम जारी
नेपाली राजदूतावाससमेत नभएको मुलुक स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले राहत स्वरूप अहिले सम्म करिब ३७ हजार युरो संकलन गरेका छन्। एनआरएनए स्पेन लगायत संघसस्थाहरुले अहोरात्र खट्दै रकम संकलन कार्य जारी राखेका हुन्।
संकलित रकमलाई एनआरएनए स्पेनले शेष घलेको अध्यक्षतामा गठित राहत समितिलाई पठाउने भएको छ। संघले भूकम्पबाट सवैभन्दा ठूलो क्षति ब्यहोरेका सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, रसुवा, काभ्रे र रामेछाप गरी कूल ७ वटा जिल्लाका भूकम्प पिडीतलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । राहत नपुगेका दुर्गम बस्तीहरुमा पुगेर कम्तीमा १० हजार परिवारलाई न्यूनतम राहत प्रदान गर्ने तयारी एनआरएनए गरिरहेका छन् ।


Source: OnlineKhabar.com  (Best Source For Nepali News)

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.