ताजा खबरहरु

मनीषाका भाइ अब नेपाली चलचित्रमा


नायिका मनीषा कोइरालाका भाइ सिद्धार्थ कोइराला नेपाली चलचित्रमा डेब्यु गर्दैछन्। बलिउडमा डेब्यु गरेको करिब एक दशकपछि सिद्धार्थले  पहिलो पटक आफ्नै देशको एउटा चलचित्रमा नायकका रूपमा अभिनय गर्न लागेका हुन्। ५ फिट साढे ९ इन्च अग्ला सिद्धार्थ आगामी  तिहारपछि छायांकन प्रारम्भ हुने चलचित्र 'मेघा' मा मुख्य नायकको भूमिका निर्वाह गर्दैछन्। सम्झना उप्रेती रौनियारको निर्देशन रहने हुने प्रेमकथामा आधारित उक्त चलचित्रमा सिद्धार्थ एउटा बिजनेस म्यानको भूमिकामा प्रस्तुत हुँदैछन्।

सिद्धार्थले बलिउडमा पाइला टेकेको करिब १४ वर्ष भयो। बलिउडका स्थापित चलचित्रकर्मी विधु विनोद चोपडाको चलचित्र ँकरिब' मा उनी  सहायक निर्देशकका रूपमा सहभागी थिए। उक्त चलचित्रमा कलाकारहरूको स्क्रिन टेस्ट गर्नेदेखि लिएर लोकेसन हेर्ने, छायांकनको मिति तय  गर्ने आदि काम उनकै जिम्मामा थियो। सन् १९९८ को अप्रिलमा प्रदर्शन भएको ँकरिब' मा बबी देओल र नेहाले अभिनय गरेका थिए। 'मैले  उक्त चलचित्रको प्रोडक्सनमा काम गर्ने अवसर पाएको थिएँ', गत शनिबार महाराजगन्जमा हालै स्थापना गरिएको सुशीला आर्ट एकेमेडीमा  साप्ताहिकसँग कुराकानी गर्दै सिद्धार्थले भने - 'उक्त चलचित्रको कामबाट मैले बलिउडलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर पाएँ।'  

'करिब' प्रदर्शन भएको केही वर्षसम्म उनी अध्ययनमा व्यस्त भए। राजनीतिक शास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेपछि मात्र उनी पुनः  बलिउड फर्किए। यसपटक उनको भूमिका केही फेरिएको थियो। चकलेटी अनुहारका धनी सिद्धार्थलाई नायकका रूपमा डेब्यु गर्ने मनसाय भए  पनि उनी सन् २००४ मा निर्माण भएको चलचित्र 'पैसावसुल' मा निर्माताका रूपमा सक्रिय भए। 'पैसावसुल' पछि सिद्धार्थले करिब सात वर्ष  बलिउडको सक्रिय जीवन बिताए। 

पैसावसुलको वास्तविक निर्माता मनीषा कोइराला भए पनि सिद्धार्थलाई मनीषाले अघि सारेकी थिइन्।  'पैसावसुल' व्यावसायिक रूपमा खासै सफल नभए पनि उक्त चलचित्रमार्फत सिद्धार्थले बलिउडमा घुलमिल हुने राम्रो अवसर पाए।  साप्ताहिकसँगको भेटमा सिद्धार्थले आफ्नो जीवनलाई रोचक पारामा सुनाए। उनको जीवन उनकै शब्दमाः

बाल्यकाल 

जननायक स्व. बीपी कोइरालाका नाति तथा प्रकाश कोइरालाको छोराका रूपमा मेरो जन्म विराटनगरको कोइराला निवासमा भएको हो। म  जन्मिनुअघिदेखि नै कोइराला परिवार र भारतको बनारसबीच एक प्रकारको सम्बन्ध गाँसिइसकेको थियो। त्यसले म पनि कहिले विराटनगर,  कहिले बनारस गर्दै हुर्किएँ। किन्डर गार्टेनको अध्ययन मैले बनारस, नयाँ दिल्ली हुँदै भारतकै विभिन्न सहरमा गरेँ। औपचारिक अध्ययन भने  काठमाडौंमै प्रारम्भ गरेँ। म त्यतिबेला गोदावरीस्थित सेन्ट जेभियर्स विद्यालयमा कक्षा १ मा भर्ना भएको थिएँ। स्कुलको अध्ययन पूरा गरेपछि म  थप अध्ययनका लागि देहरादून गएँ। देहरादूनमै मैले प्लस टुसम्मको अध्ययन गरेँ। कोइराला परिवार राजनीतिमा सक्रिय भएकाले बाल्यकालमा  म आमा र दिदी (मनीषा) सँग बढी नजिक थिएँ। विद्यालयमा भर्ना भएपछि घरबाहिर बस्ने बानी लाग्यो। बाल्यकालमा म खासै चकचके थिइनँ  भन्ने सुनेको छु। म सानोमा निकै गम्भीर स्वभावको थिएँ रे। 

युवावस्था 

स्कुले जीवनदेखि नै घरबाहिर बस्नुपरेकाले युवावस्थामा पनि म घर बाहिर नै थिएँ। म उच्च शिक्षाका लागि देहरादूनको दून विद्यालयमा भर्ना  भएँ। पढाइमा म औसत थिएँ। ज्यादै राम्रो भएर फस्ट, सेकेन्ड आउने खालको विद्यार्थी पनि थिइनँ, अनुत्तीर्ण हुने खराब विद्यार्थी पनि थिइनँ।  मलाई खेलकुदमा असाध्यै रुचि थियो। मैले विभिन्न क्लबबाट फुटबल खेलेको छु। म टेबुलटेनिसको पनि राम्रो खेलाडी हुँ। मैले देहरादूनबाट  जिल्लास्तरीय खेल पनि खेलेको छु। साथीहरूले मलाई 'बिन्दास' स्वभावको मान्थे। हुन पनि म मोजमस्ती गर्नुपर्ने, रमाइलो गर्नुपर्ने स्वभावको  थिएँ। कलेजमा छँदा पनि मैले कहिल्यै भविष्यको चिन्ता गरिनँ। पत्याउनुहुन्न होला, म आज पनि भविष्यको चिन्ता गर्दिनँ। किनभने भविष्य  कसैले देखेको हुँदैन। 

करियरको प्रारम्भ

राजनीति शास्त्र र अर्थशास्त्रमा स्नातक गरेपछि मैले यही विषयमा स्नातकोत्तर पनि गरें। पढेर राजनीतिज्ञ बन्छु अथवा अर्थशास्त्री बन्छु भन्ने  सोच भने कहिल्यै आएन। दिदी मनीषा कोइराला बलिउडमा स्थापित भैसकेकाले म मुम्बई गएर दिदीसँगै बस्न थालेँ। उहाँकै सल्लाहमा  बलिउडलाई नै करियर बनाउने निर्णय गरेँ। विभिन्न निर्माता, निर्देशक एवं कलाकारहरूसँग हेलमेल बढ्दै गयो। बलिउडका प्रायः सबै  चलचित्रकर्मीसँग मित्रवत् व्यवहार कायम राख्दै गएँ। सबैसँग सौहार्द वातावरण बनाए। करियरको प्रारम्भमै मैले बलिउडका स्थापित  चलचित्रकर्मी बिधु विनोद चोपडासँग चलचित्र 

'करिब' मा काम गर्ने अवसर पाएँ। बलिउडमा पर्दा पछाडिबाट करियर प्रारम्भ गर्ने टे्रन्ड नै छ।  मैले पनि त्यही ट्रेन्ड पछ्याएँ। 

बलिउडको संघर्ष 

दिदी मनीषा कोइरालाले बलिउडमा नम्बर एकको पगरी गुथिरहेका बेला म विद्यार्थी नै थिएँ। दिदीले बलिउडमा सफलता पाइरहेका बेला म  पनि बलिउडमा जम्नुपर्छ भन्ने पारिवारिक सल्लाह भयो। त्यसैअनुरूप म पढाइ सकिएपछि बलिउडमा सक्रिय भएँ। 'करिब' को अनुभवले  मलाई बलिउडमा डेब्यु गर्न गाह्रो थिएन। 'पैसा वसुल' मा निर्माताका रूपमा काम गरेपछि मैले बलिउडमा नायकका रूपमा डेब्यु गर्नुपर्छ  भन्ने निर्णय गरेँ। मैले चलचित्र 'आशिक हो तो दिलवरको पहचान' मा नायिका मयुरी कंगोसँग डेब्यु गर्ने अवसर पनि पाएँ। चलचित्रको करिब  ९० प्रतिशत छायांकन पनि सम्पन्न भैसकेको थियो तर निर्माताहरूको आपसी असमझदारीका कारण उक्त चलचित्रको काम अघि बढेन। मेरो  नायक बन्ने क्रमको पहिलो खुड्किलोमै अवरोध सिर्जना भयो। उक्त चलचित्रको निमर्ाण अघि नबढेपछि म निकै निराश भएँ। मलाई बलिउडका  थुप्रै चलचित्रबाट प्रस्ताव आउने क्रम जारी थियो तर मैले जस्तो पायो त्यस्तो चलचित्रमा अभिनय नगर्ने निर्णय गरेँ। त्यसबीच मैले पार्थो घो षको चलचित्र 

'अपना घर'मा अभिनय गरेँ। योचलचित्रमा मैले गरेको अभिनय दर्शकले मन पराए। त्यसपछि मैले सन् २००७ मा चलचित्र ' अनवर' मा अभिनय गरेँ। अनवरले मलाई नायकका रूपमा स्थापित गरायो। सन् २००९ मा प्रदर्शन भएको चलचित्र 'देख भाइ देख' मा पनि  मैले प्रभावकारी भूमिका निर्वाह गरेँ।  

'अनवर' को सफलता

मेरो बलिउड करियरको सबैभन्दा सम्झन लायक चलचित्र नै 'अनवर' हो। उक्त चलचित्रमा मैले सन् २००७ मा अभिनय गरेको थिएँ।  अनवरको निर्देशन मनिष झाले गरेका हुन्। चलचित्रमा म लगायत राजपाल यादव तथा नौशीद कुरेसी पनि मुख्य भूमिकामा छन्। चलचित्रमा  नायिकाका रूपमा नौशीदले मलाई साथ दिएकी थिइन्। त्यसमा मैले शीर्षक भूमिका अर्थात् 'अनवर' को भूमिका निर्वाह गरेको थिएँ।  चलचित्रमा मैले एउटा मध्यम वर्गीय मुस्लिम युवकको भूमिका निर्वाह गरेको थिएँ, जो भारतको लखनउमा बसोबास गर्छन्। लखनउमै  छायांकन गरिएको उक्त चलचित्रमा अमेरिकामा सेप्टेम्बर ११ मा आतंककारी हमलापछि मुस्लिमहरूप्रति गरिने व्यवहारमा आधारित थियो।  चलचित्रका निर्देशकले सेप्टेम्बर ११ को दुई दिनपछि न्यूयोर्कमा गरेको अनुभवका आधारमा उक्त चलचित्रको प्लट तयार भएको थियो। निर्देशक  झालाई लामो कपाल र दार्‍ही पालेकाले अमेरिकी प्रहरीले मुश्मिल भएको आशंकामा समातेर ५ घण्टासम्म सोधपुछ गरेको थियो। त्यही  घटनाबाट प्रेरित भएर उनले उक्त चलचित्र निमर्ाण गरेका थिए। यसको व्यावसायिक सफलताले पनि म बलिउडमा धेरैको नजरमा पर्न सफल  भएको थिएँ। 

मेडिटेसनको रहर

चलचित्र 'आशिक हो तो दिलवरको पहचान' को ९० प्रतिशत छायांकन सम्पन्न भएर पनि चलचित्र दर्शकमाझ आउन नसकेपछि म निकै  उदास भएको कुरा त यसअघि नै उल्लेख गरिसकें। केही वर्षअघि मैले चलचित्र 'बुद्धा' मा नायकको भूमिका निर्वाह गर्ने पक्का भएको थियो।  सबै कार्य सम्पन्न भए पनि यो चलचित्रको छायाँकन नै भएन ।  

आफूले अभिनय गरेका चलचित्रले राम्रो गर्न नसकिरहेको बेला म मुम्बईमै निराश भएर बसिरहेको थिएँ। दिदी मनीषाले दक्षिण भारतको एउटा  सुन्दर स्थान घुमेर आउ, फ्रेस हुन्छौ भन्नुभयो। दिदीको सल्लाहअनुसार म उक्त रमणीय स्थानमा गएँ। वास्तवमा त्यो मेडिटेसन गर्ने ठाउँ थियो।  त्यहाँको वातावरणले म निकै लोभिएँ। मेडिटेसन गर्ने क्रममा मेरो मन एउटी विदेशी युवतीप्रति आकषिर्त भयो। ती युवती युलिया वेकिटोभा  थिइन्। युलिया पनि मेरो व्यक्तित्वबाट प्रभावित थिइन्। हामीबीच कुराकानी भयो। प्रेमको अनुभव गर्न नपाई हामीले विवाह गर्ने निर्णय गर्‍यौं।  उनी ताजाकास्तानकी स्थायी वासिन्दा हुन्। हामीले करिब पाँच वर्षअघि काठमाडौंमै विवाह गरेका हौं। अहिले हाम्री छोरी साढे तीन वर्षकी  भएकी छिन्। 

अन्त्यमा, काठमाडौं

यसबीच मुम्बईको व्यस्त जीवनलाई छाडेर मैले आफ्नै देश र्फकने निर्णय गरेँ। त्यही निर्णयअनुसार म काठमाडौं फर्किएको करिब एक वर्ष  भयो। काठमाडौं आएको केही समयसम्म मैले केही पनि गरिन। छोरीका लागि राम्रो विद्यालय खोज्दैमा समय बित्यो। उनलाई कला, संस्कृतिका  बारेमा पढाउनुपर्छ भन्ने लागेर हामी बसोबास गर्ने महाराजगन्ज वरपर विद्यालय खोजियो। राम्रो कला पढाउने विद्यालय नभेटेपछि मैले आफैं  'सुशीला आर्ट एकेडेमी' स्थापना गरेँ। केही अघि स्थापना भएको यो कला विद्यालयमा कलाका हरेक विधामा प्रशिक्षण प्रदान गरिनेछ।

Source: Saptahik

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.